घान्द्रुकको हरियो काखमा बितेका ती सुनौला क्षणहरू मनको गहिराइमा सजाउँदै हामी बिहानको नास्तापछि बिस्तारै प्रस्थानको तयारीतिर लाग्यौँ। घान्द्रुक को शान्त वातावरणमा अझै केही बेर अल्झिरहने चाहना मनभित्रै सल्बलाइरहे पनि यात्राको अर्को पाटो हामीलाई बोलाइरहेको थियो। महिला साथीहरू गुरुङ समुदायको परम्परागत पोशाकमा सजिएर फोटो र भिडियोमा रमाइरहेका थिए, जहाँ उनीहरूको हाँसो र उल्लासले त्यो क्षणलाई झन् जीवित बनाइरहेको थियो। हामी भने झोला–झ्याम्टा बोकेर बसतर्फ अघि बढ्यौँ, मनमा बिदाइको हल्का उदासी र नयाँ यात्राको उत्साह सँगसँगै बोकेर।
करिब ११ बजेतिर हाम्रो यात्रा बन्दिपुर तर्फ मोडियो। उकालो–ओरालो, घुम्ती र पहाडी बाटाहरू पार गर्दै जाँदा बाटोमै बिन्दिबासिनी मन्दिर मा दर्शन गर्ने अवसर मिल्यो। मन्दिर परिसरमा देखिएको भारतीय भक्तजनहरूको भीडले वातावरणलाई अझ श्रद्धामय बनाएको थियो। सायद मुक्तिनाथको दर्शन गरेर फर्किने ती श्रद्धालुहरू यहाँ पनि आस्था अर्पण गर्दै थिए। त्यो क्षणले यात्रामा आध्यात्मिक स्पर्श थपिदियो।
खाजा–साझा गर्दै, रमाइला गफ गर्दै हाम्रो यात्रा अघि बढ्दै गयो र अन्ततः हामी बन्दिपुर पुग्यौँ। मोटर बाटो हुँदाहुँदै पनि हामीले केबलकार रोज्यौँ—त्यो आकाशीय यात्राले हाम्रो मनमा छुट्टै रोमाञ्च भरिदियो। माथिबाट देखिने हरियाली, टाढा फैलिएको बस्ती र प्रकृतिको अनुपम दृश्यले केही क्षणका लागि हामीलाई मौन बनायो। केबलकारबाट झरेपछि सानो गाडीले हाम्रो सामान होटलसम्म पुर्यायो, र हामी भने हाँस्दै–खेल्दै करिब १० मिनेट पैदल यात्रा गर्दै होटल पुग्यौँ। साँझको पाँच बजिसकेको थियो, तर होटल पुग्नेबित्तिकै आएको हावाहुरी र असिना पानीले हामीलाई प्रकृतिको अनौठो स्वागत जस्तो अनुभूति गरायो—जस्तो लाग्थ्यो, प्रकृति आफैंले हाम्रो आगमनको उत्सव मनाइरहेको छ।
केही विश्रामपछि हामी साँझको बन्दिपुर बजार घुम्न निस्कियौँ। पहिलो नजरमा सामान्य लागे पनि त्यहाँको पुरानो शैलीका घरहरू, ढुंगाले बनेका गल्लीहरू र चहलपहलले भरिएको बजारले बिस्तारै मन जित्न थाल्यो। बजारमा विभिन्न जनजातीय पोशाक भाडामा पाइने व्यवस्था रहेछ, जहाँ ती पोशाक लगाएर फोटो खिच्नेहरूको रमाइलो भीड देखिन्थ्यो। त्यो दृश्यले परम्परा र आधुनिकताको सुन्दर संगम देखाइरहेको थियो।
भोलिपल्ट बिहान हामीमध्ये सात जना साथीहरू “ग्रेट वाल” भनेर चिनिने डाँडातर्फ मर्निङ वाकका लागि लाग्यौँ। उकालो चढ्दै जाँदा शरीर अलि थाके पनि मन भने उत्साहित थियो। डाँडामा पुगेपछि देखिएको दृश्यले सबै थकान मेटाइदियो—तल फैलिएको बन्दिपुर बजार र वरिपरिको हरियालीले मनमा अद्भुत शान्ति भरेको थियो। हिमालय शृङ्खलाहरू पनि देखिने भए पनि त्यो दिनको कोइरोले देख्न सकिएन। त्यो डाडामा एउटा निर्माणधिन ठूलो मन्दिर देखियो, जसले पुरानो सानो मन्दिरको स्थान लिँदै थियो। एक ९० वर्षीया वृद्ध महिलाले सुनाएको कथा—मंगलबार चामल चढाएर भाकल गर्दा इच्छा पूरा हुने विश्वास—त्यो ठाउँलाई अझ रहस्यमय र आस्थाले भरिएको बनायो।
यसरी दुई दिनको छोटो तर मधुर यात्राले हाम्रो मनमा अनेकौं सम्झनाहरू कोरिदियो। प्रकृतिको काख, संस्कृतिको रंग र साथीसँगको हाँसो मिसिएको त्यो यात्रा टुङ्गाउनु पर्यो ।
No comments:
Post a Comment